सिनेसुत्र, बिराटनगर- अनमोल केसी अभिनीत सिनेमा ‘जेरी : अन टप’ को ट्रेलर शुक्रबार राजधानीस्थित लबिम मलमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ। कार्यक्रममा कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माण टिमको उपस्थिति थियो।
मुख्य पात्र अनमोल केसी भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा सहभागी हुन सकेनन्। सार्वजनिक ट्रेलरले सगरमाथा आरोहणका साहसिक दृश्यहरूलाई केन्द्रीय कथा बनाउँदै प्रेम, संवेदना, ड्रामा र रोमाञ्चलाई जोड्ने प्रयास गरेको देखिन्छ। सगरमाथा क्षेत्रदेखि मुस्ताङ र काठमाडौंसम्म खिचिएका दृश्यहरूले सिनेमा ‘भिजुअल्ली आकर्षक’ भएको अनुभूति गराउँछन्।
ट्रेलरमा प्रेम र परिवारबीचको संघर्षसँगै धोका र जीवन-मृत्युको द्वन्द्वलाई जोडिएको छ। अनमोलले बुबा भुवन केसीको अपेक्षामाथि आफूलाई प्रमाणित गर्न हिमाल आरोहणमा निस्किएको प्रसंगले सिनेमा भावनात्मक र प्रेरणादायी दुबै पाटो बोकेको संकेत गर्छ।
सिनेमाको कथा–पटकथा हेमराज बीसीले लेखेका हुन्। सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन्। निर्देशक सुयोग गुरुङले यसअघि ‘फर्की फर्की’मा देखाएको दृश्यात्मक प्रस्तुतिलाई यस सिनेमामा अझ परिष्कृत ढंगले उतारेका छन्।
‘जेरी : अन टप’लाई रोम्यान्टिक–ड्रामा जनरामा निर्माण गरिएको हो। यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ राम्रो प्रतिकृया पाइसकेको थियो। सिनेमा आसन्न तिहार (असोज ३१ / अक्टोबर १७) बाट प्रदर्शनमा आउँदैछ। ट्रेलर हेर्मुहोस :