सिनेसुत्र, बिराटनगर- ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले सिनेमा ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत सिनेमा निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।
सिनेमामा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रामा आधारित सिनेमा हो वा अरू नै कथा रहनेछ । यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।
सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्माता प्रभाकार श्रेष्ठ हुन् । सिनेमामा को-को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
सिनेमा कहिले रिलिज गर्ने भन्नेबारे पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् । केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।
प्रदर्शन भइरहेका बेला जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बनेको ‘कोशेढुङ्गा’ले सामाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो । ब्लकबस्टर निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ । टाइटल टिजर हेर्नुहोस: 