सिनेसुत्र, बिराटनगर- यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पीआर’को व्यापक प्रचारप्रसार बनाउन निर्माण टिम लागि परेको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका यस सिनेमाका नायक नायिका समेत नेपाल फर्किएका छन्। एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले सिनेमाका नायक आर.ए. सुरज पौडेल र नायिका विनिता कार्कीलाई लिएर नेपाल फर्किएका हुन्।
नेपाल फर्किए लगत्तै उनीहरु अब सिनेमा प्रचारप्रसारमा लाग्ने तयारीमा छन्। आइतबार साँझ अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका निर्देशक बस्नेतले सिनेमालाई थप उचाईमा पुर्याउनका लागि नायक नायिकालाई लिएर अष्ट्रेलियाबाट नेपाल फर्किएको बताए।
उनले सिनेमाका नायक सुरज पौडेल र नायिका विनिता कार्कीलाई नेपाल लिएर आएपछि अब थप प्रमोसनमा खटिने बताए। ‘सिनेमालाई दर्शकमाझ पुर्याउन कलाकारको पनि ठुलो हात हुन्छ,’ निर्देशक बस्नेतले भने, ‘अब नायक नायिकालाई नै लिएर नेपाल फर्किएको छु। अब व्यापक रुपमा लागिन्छ।’
निर्देशक बस्नेत एक साताअघि अष्ट्रेलिया लगायतका देशमा सिनेमा रिलिजको समय मिलाउन त्यहाँ लागेका थिए। सिनेमाका नायक पौडेलले पनि सिनेमा प्रचारका लागि नेपाल आएको बताए। ‘सिनेमाका कलाकार खोजी भइरहेको हामीले अष्ट्रेलियामा पनि सुनेका थियौँ,’ उनले भने, ‘त्यो खोजीले हामीलाई नेपालसम्म तानेको हो।’
सिनेमाको नायिका कार्कीले पनि सिनेमा प्रचार र यहाँका दर्शकसँग भेटघाटका लागि नेपाल आएको बताइन्। उनको यो डेब्यु फिचर सिनेमा हो। ‘सिनेमालाई लिएर निकै उत्साहित छु। अष्ट्रेलियामा भएको विशेष शोमा पनि दर्शकले असाध्यै मन पराइदिनु भएको थियो,’ उनले खुशी हुँदै भनिन्, ‘सिनेमा रिलिजपछि नेपालका दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ।’
उनका अनुसार सोमबारबाट निर्माण टिम सिनेमा प्रचारमा थप सक्रिय हुनेछ। सिनेमामा समावेश गीत ‘टाटा बाई बाई’ यसै बेला चर्चामा छ र यसले सिनेमा हाइप बढाइरहेको छ। सिनेमामा आर.ए. सुरज पौडेल र विनिता कार्कीका अलवा नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।
सिनेमाका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका सिनेमाको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।
स्मरण रहोस्, यो सिनेमा निर्देशक शोभित बस्नेतको दश वर्षपछिको कमब्याक हो। विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भइरहेको छ। केहि साताअघि मात्र जापानमा सिनेमा वितरण गर्दै आएको युना डिजिटलले यसको प्रदर्शन अधिकार खरिद गरेको थियो । 