सिनेसुत्र, बिराटनगर- निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस सिनेमा को सार्वजनिक टिजरले सिनेमा पूर्ण एक्सन र मधेशमा हुने अपराधको विषयलाई झल्काउँछ। सार्वजनिक टिजरमा दाइजोको कुरा र दाजु-बहिनीको प्रेम सम्बन्ध पनि देखाइएको छ। यी सबै दृश्यहरूले गर्दा सिनेमा प्रतिक्षित बन्न पुगेको छ।
मुख्य अभिनेता सम्राट दास प्रभावशाली अवतारमा देखिएका छन्। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु सिनेमा भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ।
सिनेमा मा सम्राट दास, सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमा का सह-निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस सिनेमा का प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन्। सिनेमा को सम्पादन कविर वोडले गरेका हुन्।
निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले सिनेमा निर्माण गरिएको हो। सिनेमा मार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको उनले बताए। सिनेमा को कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन्।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो सिनेमा बहुभाषिक स्वरूपको रहेको छ। सिनेमा को डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ। टिजर हेर्नुहोस : 