सिनेसुत्र, बिराटनगर गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान कार्डियक अरेस्ट (मुटुको विद्युत् सम्बन्धी गडबडी) का कारण दिल्लीस्थित एक अस्पतालमा उनको निधन भएको हो। उनी ४३ वर्षका थिए।
पछिल्लो समय भारतीय फिल्म तथा वेब सिरिजमा काम गरिरहेका तामाङ श्रीमती र छोरीसहित दिल्लीमा बस्दै आएका थिए। उनी अभिनीत चलचित्र ‘पहिचान’को विशेष शो चलिरहेको समयमा नै उनको निधन भएको खबर सार्वजनिक भएको हो।
सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेर चर्चामा आएका तामाङले गीतसँगै अभिनयमा पनि सफल यात्रा तय गरेका थिए। सन् २०१० मा रिलिज भएको ‘गोर्खा पल्टन’ उनको पहिलो फिल्म हो, जुन व्यावसायिक रूपमा सफल भएको थियो। त्यसपछि उनले ‘अंगालो यो माया’, ‘परदेशी’ लगायतका फिल्ममा अभिनय गरे।
बुबाको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले कलकत्ता पुलिसमा जवानको रूपमा सेवा गरेका थिए। लामो समय विदामा बसेको कारण देखाउँदै २०७१ सालमा भारतीय प्रहरीले उनलाई सेवाबाट बर्खास्त गरेको थियो। त्यसपछि उनी पूर्ण रूपमा गायन र अभिनयमा सक्रिय रहे।
तामाङले एक सयभन्दा बढी गीतमा आवाज दिएका छन्। उनका मन साइँली, जाउँला रेलैमा सरर , सिरिमा सिरी बतासै चल्यो, अरे क्यानम्, रातो रानी, असारे महिनामा जस्ता गीत अत्यन्त लोकप्रिय छन्। पछिल्लो समय उनी गायनभन्दा अभिनयमा बढी सक्रिय थिए।
चर्चित भारतीय वेब सिरिज ‘पाताल लोक २’ मा स्नाइपर डेनियल लीचू को भूमिकामा गरिएको उनको अभिनयको निकै प्रशंसा भएको थियो। उनले बलिउड फिल्ममा पनि डेब्यु गरिसकेका थिए। गत महिना मात्र उनले सलमान खानसँग ‘ब्याटल अफ गलवान’ फिल्ममा काम गरेका थिए, जुन आगामी १७ अप्रिलमा रिलिज हुँदैछ।
आफ्नो पहिलो बलिउड फिल्म हेर्न नपाउँदै प्रशान्त तामाङ सधैंका लागि अस्ताएका छन्। उनको निधनले नेपाली तथा भारतीय मनोरञ्जन क्षेत्र स्तब्ध बनेको छ।
