सिनेसुत्र, बिराटनगर- चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको सिनेमा ‘राम नाम सत्य’ चर्चामा छ । यो सिनेमा चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली सिनेमा अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । सिनेमामा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । यस्तै, सिनेमाको टिजरले पनि दर्शकको साथ पाइरहेको छ ।
यो सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।
यसैबिच, नायिका दिव्या रायमाझीले सिनेमा ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन् । दिव्या भन्छिन्-‘म सिनेमालाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’
सिनेमामा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्-‘सिनेमामा एक्सन भरपुर छ । तर, यो एक्सन सिनेमा मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट सिनेमा बनेको छ ।’
दिव्याले सिनेमा गज्जब बनेको बताउँदै भनिन् ‘मैले मेरो सिनेमा भनेर भनेको होइन । सिनेमा एकदमै राम्रो बनेको छ । दर्शकले यो सिनेमा हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’
यो सिनेमामा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् । माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस :