रेशमको भिसा अनि हरियाको कमब्या : ‘फेरि रेशम फिलिली’ ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  रेशमलाई अमेरिकाको भिसा लाग्छ, तर त्यो भिसाले सिर्जना गरेका सपनाहरू, चाहनाहरू, र स्वार्थको जटिल जञ्जाल सिनेमाको कथा बन्छ। ‘फेरि रेशम फिलिली’ को सार्वजनिक ट्रेलरले यही कथावस्तु वरिपरि घुम्दै दर्शकलाई हास्यरसले भरिएको मनोरञ्जन दिनेको संकेत गर्छ। राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको ट्रेलर ले सिनेमाको हास्य शैली झल्काउँछ।झण्डै एक दशकअघि रिलिज भएको पहिलो भाग जस्तै, यसको सिक्वेलले पनि त्यही उस्तै कमेडीको स्वाद दिन सक्ने सम्भावना ट्रेलरले देखाएको छ। यसपटक, नयाँ पात्र मेक्सम गौडेलको ‘हाजमोला’ चरित्र ले दर्शकलाई ताजा अनुभव दिनेछ।

ट्रेलर हेर्दा लाग्छ, यसपटक पनि हरियाको ‘रेशम’लाई विभिन्न समस्यामा पार्ने क्रम जारी रहनेछ। तर, यही परिस्थितिजन्य हास्यले दर्शकलाई पेट मिचिमिचि हँसाउने आशा गर्न सकिन्छ। सिनेमामा करिब तीन दर्जन पात्रहरू को उपस्थितिले कथालाई थप रोचक बनाउने देखिन्छ।सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, रविन्द्र झा लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ। छायांकन सुसन प्रजापती ले गरेका छन् भने, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन र कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत छ।

सिनेमालाई निरोज महर्जन ले निर्देशन तथा लेखन गरेका छन्। रौनक विक्रम कडेल निर्माता हुन् भने, कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसन ले गर्दैछ।ट्रेलरले दर्शकलाई हलसम्म तान्ने संकेत दिइसकेको छ। हास्य प्रधान कथावस्तु, चर्चित पात्रहरूको पुनरागमन, र नयाँ स्वादका कलाकारहरूलाई समेटेको यस सिनेमाले बक्स अफिसमा कत्तिको प्रभाव पार्छ भन्नेचाहिँ रिलिजपछिको प्रतिक्रियाले नै बताउनेछ।

सम्बन्धित समाचारसबै