सिनेसुत्र, बिराटनगर- डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ। सिनेमाको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो।
सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको सिनेमा ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्। यो सिनेमाका निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को-प्रोड्युसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। सिनेमाको भव्यतासहित यसको विषयवस्तुबारे केही संकेत गर्दै सौरभले थिम र टाइटल अनाउन्समेन्ट गरेका हुन्।
यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजसी कालखण्डका व्यक्ति देखिएका छन्। पोस्टरले द्वन्द्वको संकेत गरेको छ। विद्रोहीको सेल्टरमा आगो लगाएको जस्तो देखिन्छ, तर यकिन छैन।
पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ। त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरूले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ, जसले यो सिनेमा कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ। यो सिनेमा एक्सन-ड्रामा जनराभित्र रहने बताइएको छ। पछिल्लो समय एक्सन र मेकिङमा निकै प्रशंसा पाएका सौरभले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेको बुझिएको छ।
कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली सिनेमा उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ सिनेमा हुने बताए। यो सिनेमा लाइनअप र मेकिङको हिसाबले नेपाली सिनेमा उद्योगकै अहिलेसम्मको बिग स्केलको सिनेमा हुनेछ, उनले भने।
निर्माण पक्षले सिनेमाका निर्देशक, लेखक, निर्माता र डीओपी सार्वजनिक गरे पनि कलाकार भने सार्वजनिक गरेका छैनन्। केही दिनमै कलाकारको लाइनअप सार्वजनिक गर्ने बताइएको छ। भदौ पहिलो साताबाट छायांकन सुरु गरिने सिनेमाको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ।
सिनेमाको रिलिज मितिबारे सौरभले हतार नगर्ने बताएका छन्। उनले भने, अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौँ। पूर्ण रूपमा छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सनको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो। पहिला एउटा लाइनअप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला नि। मानकृष्ण महर्जनको डीओपी रहने यस सिनेमाको एक्सन निर्देशकमा श्री श्रेष्ठ छन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनर टौवा स्टुडियो छ।
यस सिनेमाको वितरक डीसीएन रहेको छ। यो सिनेमाले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई समेट्छ वा काल्पनिक ‘साम्राज्य’को कथा भन्छ भन्ने कुरा थाहा पाउन भने समय कुर्नुपर्ने भएको छ। हाललाई भने यो पोस्टरले ‘द राइज अफ साम्राज्य’लाई वर्षकै बहुप्रतीक्षित सिनेमाको सूचीमा राख्ने निश्चित भएको छ।