




सिनेसुत्र, बिराटनगर- निर्देशक वसन्त निरौला भोलि फूलपातीको अवसरमा आफ्नो सिनेमा ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ प्रस्तुत हुँदैछन्। ‘विजयपथ’बाट निर्देशनमा डेब्यू गरेका वसन्तले यस अघि एक्सन, प्रेमकथा, र राजनीतिक पृष्ठभूमिमा आधारित सिनेमाहरू निर्देशन गरेका थिए।
वसन्त भन्छन्, “पहिला मलाई एक्सन सिनेमाहरू विशेष मनपर्थे। मैले निर्देशनको सुरुवात गरेको समय एक्सनकै सिनेमा चलिरहेको थियो, निखिल उप्रेतीजस्ता स्टारहरूको सिनेमा हिट हुन्थ्यो। अहिले समय परिवर्तन भइसकेको छ, र मैले केही फरक गर्नुपर्छ भन्ने महसुस गरेँ। करिब डेढ वर्षको योजना पछि यो सिनेमा तयार भएको हो।”
वसन्तले लेखक सबिन अधिकारीले ‘ज्वाइँ साब’को कन्सेप्ट सुनाएपछि नै काम गर्न सहमति जनाएका थिए। “सबिनसँग थुप्रै कन्सेप्टहरू थिए, तर ‘ज्वाइँ साब’को कथा सुनेपछि म उत्साहित भएँ। यो सिनेमा हाम्रो समाजमा देखिएकै कथाहरूलाई प्रस्तुत गर्ने प्रयास हो,” उनी भन्छन्।
जितु नेपाललाई सिनेको लागि चयन गर्नुअघि वसन्तले स्क्रिप्टको काममा निकै ध्यान दिएका थिए। “पहिले जितु नेपालभन्दा पनि कथालाई न्याय गर्न सक्ने कलाकार खोज्दै थिएँ। स्क्रिप्ट फाइनल भएपछि मात्र जितुलाई कथा सुनाएँ, र सहमत भएपछि अन्य कलाकारहरू चयन गर्न थालेँ,” उनले बताए।
वसन्तले यो सिनेमा दर्शकसँग गहिरो सम्बन्ध स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। “हामीले सिनेमा भित्र बेहुलीको ठाउँमा बेहुलालाई भित्र्याउने परिकल्पना गरेका छौं। यो सिनेमा महिला प्रधान छ, त्यसकारण पनि दर्शकलाई मनपर्नेमा म ढुक्क छु,” उनी भन्छन्।
यो सिनेमा मात्र कमेडी नभई इमोसनल पक्षले पनि भरिपूर्ण रहेको उनले खुलासा गरे। “जितु नेपालले निर्वाह गरेको गोबद्र्धन पण्डित पात्र हरेक दर्शकलाई जोड्न सक्षम छ। सिनेमा सामान्य तर सजीव कथा बोकेको छ, जसले समाजका विभिन्न पक्षलाई उजागर गर्छ,” उनले भने।
‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल र दीपक आचार्यलगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न पाइनेछ।