‘डोरी’को मुहूर्त: अञ्जना र प्रवीणले बाँध्ने सम्बन्ध र रहस्यको डोरी- आइतबारबाट फ्लोरमा

0 Shares

बिराटनगर, सिनेसुत्र – आगामी आइतबारबाट छायाङ्कन सुरु हुने नेपाली सिनेमा ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा विशेष क्यामेरा र स्क्रिप्ट पूजासहित सम्पन्न गरियो। उक्त सिनेमा ‘डोरी’ आउने बर्ष २०८२ मा रिलिज गर्ने लक्ष्य राखिएको छ।

मुहूर्त कार्यक्रममा प्रमुख कलाकारहरू र निर्माण टिमको उपस्थिति थियो। अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन लगायतका कलाकारले सिनेमाको सफलताका लागि कामना गर्दै पूजामा सहभागी भए। निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका प्रमुख सदस्यहरू पनि कार्यक्रममा उपस्थित थिए। सिनेमामा कविता आले र सजन श्रेष्ठको समेत अभिनय रहनेछ।निर्देशक अरुण लामाले ‘डोरी’ नामको गहिराइ र यसको अर्थबारे व्याख्या गर्दै भने, “डोरीले बाँधिएका सम्बन्ध र जिम्मेवारीलाई चित्रण गर्छ। पात्रहरू जिम्मेवारी, समस्या, र माया जस्ता विभिन्न डोरीले बाँधिएका छन्।” सिनेमाको अङ्ग्रेजी शीर्षक ‘DORII’ को फुलफर्म ‘Discovery Of Realism In Inquisitiveness’ रहेको छ, जसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्ने उद्देश्य रहेको उनले बताए ।

लामाका अनुसार, ‘डोरी’ले समाजको यथार्थ र समकालीन सन्दर्भलाई जीवन्त ढङ्गले प्रस्तुत गर्नेछ। “दर्शकले पात्रहरूमा आफ्ना अनुभव र भावना भेट्न सक्नेछन्,” उनले थपे।

अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँग सहकार्य गर्न पाउनु एक विशेष अनुभव रहेको बताइन्। “यस सिनेमामा नयाँ सोच र विचार समावेश गरिएको छ। मुहूर्तपछि मैले विशेष ऊर्जा महसुस गरेकी छु, र सिनेमा सफल हुनेमा विश्वास छ,” उनले भनिन्।

अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई रहस्य, सामाजिक यथार्थ, र सस्पेन्सको उत्कृष्ट संयोजनको रूपमा परिभाषित गरे। “यसले दर्शकलाई मनोरञ्जन मात्र होइन, सन्देश पनि दिनेछ,” उनले भने।

सिनेमाको लेखन निर्देशक अरुण लामाले गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन्। निर्माणमा दिनेश भट्टराई र कार्यकारी निर्माताका रूपमा राज थापा रहेका छन्। छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सङ्गीत राजनराज सिवाकोटीले प्रदान गर्नेछन्। एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।

सम्बन्धित समाचारसबै