बिराटनगर, सिनेसुत्र – पौष २० गत्ते बाट छायांकन सुरु गर्ने तयारीमा रहेको सिनेमा ‘कल्ली’ का लागि कलाकारहरूको आकर्षक टोली तयार हुँदैछ।
हालै नायक नाजिर हुसेन र नायिका वर्षा राउतको संलग्नता पुष्टि भएपछि सिनेमाको कास्टिङ झन् बलियो भएको छ। निर्माता किरण नेपालीले यी दुबै कलाकारसँग कागजी सहमति भइसकेको जानकारी दिएका छन् तर, उनीहरूले सिनेमामा निर्वाह गर्ने भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन।
पहिले नै फाइनल भएका कलाकारहरूमध्ये सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल छन्। केही समयअघि मात्र चर्चित अभिनेता उत्तम प्रधानलाई पनि सिनेमामा सामेल गरिएको थियो। यसबाहेक, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने र रेअर राई पनि सिनेमामा देखिने पक्का भएको छ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहने ‘कल्ली’ मा निसाल पौडेलको छायांकन रहने छ । संगीत एसडी योगीले दिनेछन्। कोरियोग्राफी रामजी लामिछानेको रहनेछ। किरण नेपालीको लगानीमा निर्माण हुने यस सिनेमाको लेखन र निर्देशन लक्ष्मण सुनारले गर्ने छन् । पटकथा र संवाद महेश दवाडीले तयार पारेका हुन्।
निर्माणपक्षका अनुसार, ‘कल्ली’ को कथावस्तु यसपटक केही नयाँ र अनौठो रहनेछ, जसले दर्शकलाई नयाँ अनुभव दिने दाबी गरिएको छ।