बिराटनगर, सिनेसुत्र – आखिरकार, प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २५ गतेको प्रदर्शन मिति पक्का भएको हो।
पोस्टरमा एउटा विशाल रुखको फेदमा घर र प्रियंका तथा दीयालाई सोही रुखको आकारमा देखाइएको छ। प्रियंका गम्भीर भावमा प्रस्तुत छन् भने दीया रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा देखिएकी छन्। सिनेमाको कथा एक परिवारमा छोरी र कुकुरको निधनपछि कालो बिरालो अपनाएको घटनासँगै उत्पन्न हुने रहस्यमय विपत्तिलाई प्रस्तुत गर्छ, जुन एक हरर फ्यामिली ड्रामा हुनेछ।
‘ममी’ मा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल जस्ता कलाकारहरूको अभिनय रहेको छ। समर निरौलाले लेखन र निर्देशन गरेका छन्, जसले यो सिनेमाबाट निर्देशनमा आफ्नो डेव्यु गरेका हुन्।

लोक राज जोशी र पूर्णिमा जोशी निर्माता, सुमन कोइराला कार्यकारी निर्माता रहेको यो सिनेमाको छायांकन निसल पौडेल र शरद महतोले गरेका छन्। सिनेमाको कलर दिपेश चौधरीले र सम्पादन सुरेन महर्जनले गरेका छन्। काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले यो सिनेमाको वितरण गर्नेछन्।