दार्जिलिङको गोर्खा रंगमञ्चमा ‘बम बहादुर’ को प्रिमियर सम्पन्न, सौगात मल्ल अनुपस्थित

0 Shares

बिराटनगर, सिनेसुत्र – दार्जिलिङको ऐतिहासिक गोर्खा रंगमञ्च भवनमा नेपाली सिनेमा ‘बम बहादुर’ को प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने यस सिनेमा सञ्जीव सार्कीले निर्माण गरेका हुन् भने निर्देशन जोन राईले गरेका छन्। दार्जिलिङका दर्शकहरूको विशेष प्रशंसा बटुल्न सफल यो सिनेमा ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा प्रिमियर शो आयोजना गरेको थियो।सो प्रिमियरमा सिनेमा निर्माणमा टिमको परिश्रम र समर्पणलाई कदर गर्दै कलाकार र टिमका सदस्यहरूलाई सम्मान गरिएको थियो। अन्य सिनेमाको छायाङ्कनमा व्यस्त भएका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिएनन्। अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो।

‘बम बहादुर’ ले भारतका नेपाली समुदाय, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपालीहरूको सङ्घर्षमय जीवनको ऐतिहासिक र सन्देशमूलक कथा प्रस्तुत गरेको छ। सिनेमा सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा आधारित छ। मुख्य पात्र बम बहादुरको जीवन सङ्घर्षले सिनेमालाई प्रभावकारी बनाएको प्रिमियरमा दर्शकहरूले बताए।यसको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण सिनेमाले दर्शकको मन जितेको छ। कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै सिनेमाको प्राविधिक पक्षले पनि प्रशंसा पाएको छ। दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले सिनेमालाई थप सुन्दर बनाएको प्रतिक्रिया प्राप्त भएको छ।

सम्बन्धित समाचारसबै