बिराटनगर, सिनेसुत्र – सामाजिक विसङ्गतिहरूलाई उजागर गर्दै अर्जुन सुवेदीले नयाँ सिनेमा ‘सोल्टिनी’ को औपचारिक घोषणा गरेका छन्।”
चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत यो नयाँ सिनेमा घोषणा गरेका हुन्। भिडियोमा प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गरिएको छ।
घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले सिनेमाको भाव व्यक्त गरेको छ। वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ।” यसबाट सिनेमाले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ।
सिनेमामा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ। अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ। तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो।”
अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्, “सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न। तर हामी एक हुन सक्दैनौँ।”
यी संवादले यस सिनेमामा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ।
सिनेमाको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियोले जनाइएको छ। पृष्ठभूमिमा सिनेमाको थिम गीतले भावनात्मक स्पर्श थपेको छ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो सिनेमा पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारीमा छ। हाल सिनेमाका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ।
सिनेमा घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ।