सिनेमा ‘कर्मा’को छायांकन सुरु: विपिन कार्की एक्सन अवतारमा

0 Shares

बिराटनगर, सिनेसुत्र – सौरभ चौधरीको निर्देशनमा तयार हुँदै गरेको सिनेमा ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन सुरु भएको छ। शुक्रबार दाङको घोराहीमा कलाकारहरूको उपस्थितिमा सिनेमाको पहिलो दृश्य खिचिएसँगै निर्माण टिमले छायांकन औपचारिक रूपमा प्रारम्भ गरेको हो।४० दिनसम्म दाङ र ६ दिन रुकुममा छायांकन हुने यस सिनेमामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, र दिव्यदेवले मुख्य भूमिका निर्वाह गर्दैछन्। यस सिनेमामा पहिलो पटक विपिन र उपासना जोडीका रूपमा प्रस्तुत हुँदैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा देखिने भएका छन्।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’का निर्देशक सौरभ चौधरीले यस सिनेमाको कथा स्वयं लेखेका हुन्। निर्देशकका अनुसार, यसमा अभिनेता विपिन कार्कीलाई पहिलो पटक एक्सन अवतारमा देख्न पाइनेछ।यसअघि चौधरीले निर्देशन गरेको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। यो अनुभवलाई आधार बनाएर निर्माण भइरहेको ‘कर्मा’ले पनि उच्च अपेक्षा प्राप्त गरेको छ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस सिनेमामा बसन्त लम्सालको लगानी रहेको छ। छायांकन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको यो सिनेमा आगामी चैत्र २९ गते, नयाँ वर्षको अवसरमा, प्रदर्शनमा आउने तयारी गरिएको छ।

सम्बन्धित समाचारसबै