नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने ‘बम बहादुर’ को पत्रकार सम्मेलन इटहरीमा सम्पन्न

0 Shares

बिराटनगर, सिनेसुत्र –  यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको सिनेमा ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। आइतबार भएको उक्त समारोहमा सिनेमाका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति रहेको थियो।

पूर्वी नेपालमा सक्रिय पत्रकारहरूसँगै दार्जिलिङ, सिलिगुडी लगायतका नेपाली भाषाका सञ्चारमाध्यमका पत्रकारहरूको समेत उपस्थितिमा भएको समारोहमा सिनेमाका कलाकारहरूले आफ्नो अनुभव साटासाट गरेका थिए। सो क्रममा प्रमुख अभिनेता सौगात मल्लले यो सिनेमाको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।‘बम बहादुर’ सिनेमाले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ। यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको पत्रकार सम्मेलनमा बताइयो। लेखक तथा निर्देशक जोन राईले यो सिनेमा बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए। सिनेमाको महत्वलाई उजागर गर्दै राईले भने, “अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस्। भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो।”अभिनेता सौगात मल्लले सिनेमा ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे। “मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ। स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो। म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन। नेपालमा बस्ने जतिले पनि यो सिनेमा हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,” मल्लले बताए।

उनले अगाडि भने, “यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो। त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरा एकदमै प्रिय भएका छन्। यो सिनेमा राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ। मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन।”

सिनेमाकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो सिनेमाले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन्। “म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो सिनेमा सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो। मेरो अनुरोध छ कि यो सिनेमा जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस्। हामी सबै एउटै हौँ,” रसाइलीले भनिन्।

कलाकार शान्तिला तामाङले यस सिनेमाबाट आफूले ठूलो आशा बोकेको बताइन्। दार्जिलिङ निवासी उनले भनिन्, “नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ। सिनेमामा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ।”

सम्बन्धित समाचारसबै