बिराटनगर, सिनेसुत्र – सिनेमा ‘रंगी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो सिनेमा फागुन २ गतेदेखि प्रदर्शनमा आउने निर्माण टोलीले जानकारी दिएको छ। बुधबार सार्वजनिक गरिएको सिनेमाको पोस्टर र मोसन पोस्टरले दर्शकमा कौतुहलता थपेको छ।
पोस्टरमा मुख्य कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई देखाइएको छ। ग्रामीण परिवेशलाई पृष्ठभूमिमा राखेर निर्माण गरिएको पोस्टरमा उनीहरु गम्भीर भावमा प्रस्तुत भएका छन्। उनीहरुको गम्भीरताको कारण बुझ्न भने सिनेमा हेर्नु पर्ने हुन्छ।
मोसन पोस्टरमा सलोन र आयुषीसँगै डेब्यू नायिका नम्रता श्रेष्ठलाई पनि समेटिएको छ। नम्रता ‘मिस वर्ल्ड नेपाल २०२०’की विजेता हुन्, जसले यस सिनेमाबाट अभिनय यात्रा सुरु गर्दैछिन्।
सुरेश न्यौपानेले निर्देशन गरेको यो सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीले अभिनय गरेका छन्। सलोन बस्नेतका अनुसार सिनेमा बाबु र छोरीको भावनात्मक कथामा आधारित छ।
सलोनको निर्माणमा बनेको यो पहिलो सिनेमा हो। बाल कलाकारका रूपमा ‘नेपाली बाबु’बाट करियर सुरु गरेका सलोनले ‘होस्टल’ र ‘हिरो’जस्ता चर्चित सिनेमामा प्रमुख भूमिकामा अभिनय गरेका थिए। निर्देशक सुरेश न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता सफल सिनेमामा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतले निर्माण गरेको सिनेमाको लेखन सुमन गजमेरले गरेका हुन्। सिनेमा ‘रंगी’मा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसीको संगीत, आनन्द कार्की, समीक्षा अधिकारीलगायतका गायकहरूको स्वर, र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ।
यो सिनेमा एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।