‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण फागुन २३ मा प्रदर्शन : रमाइलो पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि सिनेमाको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ। यो मितिमा नेपालसहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान कँडेलले बताए।

सिनेमाको पहिलो झलक देखाउने पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ, जसले सिनेमा हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ। पोस्टरमा सिनेमामा प्रमुख पुरुष पात्रहरूले बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ। यी चार मुख्य पात्रहरू – आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङ हुन्। राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन्।

पात्रहरूको हास्यजन्य शैलीले सिनेमाको कथावस्तु रमाइलो र जीवन्त हुने सङ्केत गर्छ। ‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ।

सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्। कथा निर्देशक कँडेलकै हो। सिनेमा सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो। यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ। यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ। यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली सिनेमा उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण सिनेमा बन्ने विश्वास लिइएको छ। यसमा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्। अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत रहेको छ। विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।

सम्बन्धित समाचारसबै