सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कार्साङ’को गीत सार्वजनिक भएको छ। सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो।
गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ। स्वर एडी योडी र रेश्मा पुन मगरको छ। रिकेश गुरुङले एरेन्ज छ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ।
प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ। प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ।
टिपिकल शब्द र भेषभुषाले गीतलाई जीवन्त बनाएको छ। पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ। जसले गीतलाई राम्रो बनाउन सहयोग गरेको छ। बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ। यो गीतले सिनेमाको कथा भन्न सहयोग गर्नेछ।

पुस २६ गते रिलिज हुने सिनेमा यम शेर्पाको डेब्यु निर्देशन हो। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ।
सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
सिनेमाले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ।
यो सिनेमा दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ।
सिनेमा ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ। सिर्जना निङलेखुको यो डेब्यु सिनेमा हो।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।