सलोन र आयुषीको सम्बन्धले छोयो मन: फागुन २ मा प्रदर्शन हुने सिनेमा ‘रंगी’ को टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमाको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर सिनेमाका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ।

टिजरमा छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ। टिजर खुशी, रोदन र पीडा मिश्रित छ। फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि पानीमा भिज्दै काम गरेको दृश्य, छोरीलाई स्याहार सुसार गरेको दृश्य टिजरमा हेर्न पाइन्छ। टिजरमा कारले हिर्काएर घाइते भएकी छोरीलाई हातमा बोकेर सलोन चिच्याएको दृश्य निकै कारुणिक छ।

टिजरमा सिनेमाकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ। यो सिनेमा आगामी फागुन २ गते रिलिज हुँदैछ। यसअघि सिनेमाका दुई पोस्टर सार्वजनिक भइसकेका छन्। सार्वजनिक पोस्टरले सिनेमालाई एक किसिमको हाइप दिइसकेको छ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। प्रस्तुतकर्ता सलोनका अनुसार सिनेमाले बाबुछोरीको कथा देखाउनेछ। सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै