दयाहाङ राईको झाँक्री अनुभव ‘कार्साङ’मा कहिल्यै नगरेको प्रयास : सिनेमा पुस २६ मा आउने

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘कार्साङ’ का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने सिनेमा बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा सिनेमा बनेको कलाकार र निर्देशकको भनाइ छ।

आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले झाँक्री सिनेमामा हुँदाको स्मरण गरे।
“झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो। आगोमा नाच्नुपर्ने थियो। सिनेमा हो, चिटिङ भइहाल्छ भन्नेमा म थिएँ। तर उहाँहरू केही हुन्न, मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो,” काठमाडौंमा सोमबार दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, “डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ। मलाई के गर्नु–गर्नु भयो। ट्राइ चाहिँ गर्छु भन्ने भयो। आगोमा पसेँ, सफल भएँ। उहाँहरुसँग ज्ञान रहेछ।”

लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए। झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ।

त्यसैले ‘कार्साङ’मा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाए।

निर्देशक यम शेर्पाले भने, “सिनेमाको कथा आफैँमा राम्रो छ। सिनेमाले दर्शकको मन छुन्छ। भावुक बनाउँछ र हसाउँछ पनि,” राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले सिनेमालाई थप सशक्त बनाएको छ।”

सिनेमालाई लिएर आम दर्शकमा चासो रहेकाले हलमा पुगेपछि विषय र प्रस्तुतिलाई आम अडियन्सले मन पराउने उनको भनाइ छ।
“म जहाँ गए पनि दयाहाङको ‘कार्साङ’ आउँदैछ रे भनेको सुन्छु र टिजर र गीतको कुरा गरेको सुन्छु,” उनले भने, “सायद यस्तै खोजी हुने र चासो भयो भने नै सिनेमा हेरिने होला।”

कलाकार जितु नेपालले सिनेमा विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए। आफू विदेशमा हुँदा धेरैले यो सिनेमाको विषय र भूमिकालाई लिएर सोधेको उनले बताए।
पोस्टर निस्किएपछि चासो बढेको उनको भनाइ छ। “तपाईँको रोल कस्तो हो भनेर धेरैले सोध्ने गरेका छन्,” जितुको भनाइ छ।
“म केन्द्रीय चरित्रमा छु वा सहायक, त्यसले केही अर्थ राख्दैन। सिनेमा कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो,” जितु अगाडि भन्छन्, “म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु। सहायक चरित्र हुँदा पनि गर्छु।”

कलाकारका लागि चरित्रभन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले सिनेमामा अर्थ राख्ने उनको भनाइ छ।

नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो सिनेमा भएको बताइन्। “मेरो काम कस्तो छ भनेर हेर्न पनि यो सिनेमा हेर्नुपर्छ,” उनले भनिन्, “मलाई प्रतिक्रिया दिन पनि यो सिनेमा हेरिदिनुहुन्छ भन्ने लागेको छ। समग्रमा सिनेमा राम्रो बनेको छ। मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु।”

पुस २६ गते रिलिज हुने सिनेमा यम शेर्पाको डेब्यु निर्देशन हो। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ।
सिनेमाले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैलाई रिलेट गर्ने कलाकार र निर्देशकको दाबी छ।

सिनेमा ‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको यो सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्।
सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

सम्बन्धित समाचारसबै