सिनेसुत्र, बिराटनगर- लोकप्रिय गायक, संगीतकार तथा अभिनेता प्रकाश सपूतले आफ्नो डेब्यु निर्देशन सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन्। यस सिनेमामा प्रकाशले लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सक्रिय भूमिका निर्वाह गरेका छन्। पोस्टरमा उनी अध्ययनशील देखिन्छन्, जहाँ टेबुलमा किताबको चाङ र भित्तामा लक्ष्मीप्रसाद देवकोटा तथा पारिजातका तस्बिर छन्। पोस्टरले सिनेमामा साहित्यिक परिवेश प्रस्तुत हुने संकेत गरेको छ।
चैत २२ गते प्रदर्शन हुने ‘वसन्त’ले प्रकाशका अघिल्ला प्रोजेक्टजस्तै ठूलो हाइप सिर्जना गरेको छ। पोस्टर सार्वजनिक गर्दै उनले सिनेमाको निर्माण यात्राबारे लामो स्टाटस लेखेका छन्। स्टाटसमा उनले निर्माणको क्रममा भोगेका चुनौतीहरू, समयको अभावका कारण स्टेज शो र गीतबाट टाढा रहनुपरेको कुरा उल्लेख गरेका छन्। ‘वसन्त’का लागि उनले संगीतबाट कमाएको समय, आराम र साथीभाइसमेत गुमाएको बताए।
प्रकाशले यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना रहेको र यसबाट सबै गुमाएका कुरा फिर्ता हुने विश्वास व्यक्त गरेका छन्। स्टाटसमा उनले भनेका छन्, ‘मैले वसन्तमा मभित्रका सबै रङ्गहरू पोखेको छु। यदि वसन्त बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो सीमितता यत्ति नै हो।’
‘वसन्त’मा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, उर्मिला लाम्गादे लगायतका कलाकारको अभिनय छ। गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो सिनेमाका निर्माता मोहन विश्वकर्मा र विन्दू बोहरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन्।
प्रकाशको पहिलो सिनेमा ‘परदेशी-२’ सुपरहिट भएको थियो भने दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि राम्रो व्यापार गरेको थियो। अब ‘वसन्त’मार्फत उनले निर्देशनमा पनि आफ्नो क्षमता देखाउनेछन्।