‘अञ्जिला’ सिनेमा को नयाँ गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक : फागुन २९ मा रिलिज हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । आगामी फागुन २९ गते रिलिज हुने यस सिनेमा का गीतकार र संगीतकार राजन राज शिवाकोटी हुन् भने गायनमा शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य रहेको छ । सिनेमा का निर्देशक मिलन चाम्सले यो गीत सिनेमा को प्रचार प्रसारको प्रयोजनको लागि तयार पारिएको बताए ।

यो सिनेमा महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको छ । निर्देशक चाम्सले सिनेमा ले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताए ।सिनेमामा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमा मा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

यस सिनेमा को भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो, जसमा दर्शकले प्रशंसा गरेका थिए । यो सिनेमा नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुने निर्माता श्रेष्ठले बताए ।

सिनेमा को छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । सिनेमा को छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमा का निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

सम्बन्धित समाचारसबै