‘होस्टेल ३’लाई दुई नयाँ सिनेमाको बराबरी शो : बिहीबारबाट मध्यपूर्वमा अन्तर्राष्ट्रियमा प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर-  गत शुक्रवारदेखि प्रदर्शनमा आई भरिभराउ दर्शकका साथ नेपालका हलहरूमा चलिरहेको नेपाली सिनेमा ‘होस्टेल ३’ ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक शो प्राप्त गरेको छ। फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली सिनेमा ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’ सँग बराबरी शो प्राप्त गरेको छ।

बुधवार साँझसम्म हाउसफुल दर्शकका साथ प्रदर्शन भइरहेको ‘होस्टेल ३’ लाई अत्यधिक रुचाइएको छ। कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका यसका निर्देशक सशान कँडेलका अनुसार तीन पटकसम्म सिनेमा हेर्न आएका दर्शकहरू भेटिएका छन्। उनका अनुसार ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण सिनेमालाई यो सफलता प्राप्त भएको हो। हल पुगेका दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन्। अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दर्शकबाट प्राप्त छ।

‘नन होलिडे’ रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन्। युवा पुस्तालाई लक्षित यो सिनेमा ले नेपाली सिनेमा का मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ। डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन्।निर्देशक कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिएका छन्। “सिनेमाले पहिलो हप्ताको अन्त्यसम्म आइपुग्दा अपेक्षाभन्दा निकै नै माथिको व्यापार गरेको छ। मैले सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु,” कँडेलले बताए।

यसै गरी, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ। व्यापक शोसहित प्रदर्शनमा आएको यो सिनेमा रिलिजको लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन्। मध्यपूर्वका वितरक आशिष पुरुषका अनुसार त्यहाँ यसको व्यापक माग भएको छ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्। सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस सिनेमाको सम्पादन विकास दाहालले गरेका छन्। हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन्। यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन्। सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै