अग्रिम टिकटमै हल भरिँदै, दशैंमा ‘बलिदान’ हेर्ने होड सुरु : क्युएफएक्स र आइएनआइले दिए विशेष प्राथमिकता

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली सिनेमा ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ। त्यसै गरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ।देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ। समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने वितरकको भनाइ छ। अग्रिम टिकट खुल्ने बित्तिकै कतिपय हलमा दर्शकले व्यापक रूपमा टिकट खरिद गरिरहेको देखिएको छ।

यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि-टिजर, टिजर, गीत र ट्रेलरमार्फत सिनेमा ले दर्शकमाझ ठुलो उत्सुकता पैदा गरिसकेको छ। निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभई देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको माया–ममताको प्रतीक हो। उनका शब्दमा, “सिनेमाले दर्शकलाई जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा दिनेछ।”‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो सिनेमा मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।

देशभर शो सङ्ख्या तीव्र गतिमा बढिरहेको र दर्शकको चासो उच्च भएकाले सिनेमा ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।  ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै