कार्तिक ६ मा रिलिज हुने सिनेमा ‘सोल्टिनी’को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-   भाइटिकाको दिन, कार्तिक ६ गते प्रदर्शनमा आउने नेपाली सिनेमा ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। लिरिकल शैलीमा तयार गरिएको यो गीतमा शब्द, सङ्गीत र स्वरको समिश्रणमार्फत सिनेमाको भावनात्मक कथावस्तु झल्किन्छ।

गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर समावेश गरिएको छ। गीतका शब्द र सङ्गीत पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्। ‘नौलाख तारा’मा प्रयोग गरिएका दृश्य र तस्बिरहरूले सिनेमा ‘सोल्टिनी’का मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा आएका पारिवारिक तथा सामाजिक बाधाहरूलाई प्रभावशाली ढङ्गले प्रस्तुत गर्छन्।गीतको लिरिकल भिडियोमा पनि त्यही भावनात्मक संघर्ष झल्किन्छ, जसले सिनेमा कथा र भावनालाई मजबुत बनाएको छ। सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

यस सिनेमाको कार्यकारी निर्माणमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ संलग्न छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका सुन्दर लोकेशनमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय भेदभाव, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताएका छन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै