‘पीआर’ सिनेमाको जापानमा प्रदर्शन अधिकार ‘सोल्ड आउट’

0 Shares

सिनेसुत्र, बिराटनगर- मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘पीआर’ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा सिनेमा वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो।

सिनेमाका निर्देशक शोभित बस्नेतले जापानमा सिनेमा ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने, ‘अहिले जापानका लागि यो सिनेमा राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका सिनेमा वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा रहेका नेपाली दर्शकमाझ सिनेमा प्रतिको चासो उच्च देखिएको छ। उनका भनाइमा, “सिनेमा मा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरुप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ।”

हालै सार्वजनिक भएको सिनेमा को गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ। गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा समेत यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू व्यापक बनेका छन्।सिनेमा मा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।

सिनेमा का प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो सिनेमा को छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

निर्माण पक्षले जापानमा अधिकार बिक्रीसँगै अन्य देशका नेपाली दर्शकमाझ पनि ‘पीआर’को प्रतीक्षा बढेको जनाएको छ। यसअघि यो सिनेमा को अष्ट्रेलियाका विभिन्न शहरहरुमा विशेष शो गरिएको थियो, जहाँ हजारौं दर्शकले हेरेका थिए।

सम्बन्धित समाचारसबै