सिनेसुत्र, बिराटनगर- बिराटनगर-१० स्थित माटर्स मेमोरियल बोर्डिङ स्कुलले आज आफ्ना विद्यार्थीहरूलाई जीवनको महत्त्वपूर्ण पाठ सिकाउने उद्देश्यले चर्चित नेपाली चलचित्र ‘मन बिनाको धन’ हेर्न सिटी सिनेमा हल पुर्याएको छ। कक्षा ८ र ९ का विद्यार्थी तथा शिक्षक गरी करिब ७० जनाको समूहले अशोक दर्जी अभिनीत यो सिनेमा हेरेको हो।
विद्यालयका अनुसार सिनेमाले विद्यार्थी-शिक्षकबीचको सम्बन्ध, अनुशासन, परिवारको महत्व र भावनात्मक पाटोलाई गहिरो रूपमा प्रस्तुत गरेको छ। सिनेमामा प्रस्तुत गरिएका विषयवस्तुहरू विद्यार्थीको जीवनसँग प्रत्यक्ष जोडिएका छन्। हामीले विद्यार्थीहरूलाई स्कुल जीवनमा हुने वास्तविक समस्या, गल्तीपछि हुने पछुतो, र परिवारप्रतिको जिम्मेवारीबारे शिक्षा दिन यो सिनेमा हेर्न प्रेरित गर्यौँ।
सिनेमा हेरिसकेपछि विद्यार्थीहरू निकै प्रभावित बनेका देखिए। सिनेमाले मन छोयो। धेरै दृश्यहरू आफ्नै स्कुल जीवनसँग मेल खाएको महसुस भयो। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध कति महत्वपूर्ण रहेछ भन्ने बुझियो।
अशोक दर्जीको अभिनय प्रभावकारी रहेको र भावनात्मक दृश्यहरूले हल शान्त बनाएको उनीहरूले बताए। विद्यार्थीहरूले ‘मन बिनाको धन’ लाई शिक्षामूलक, मन छुने र एक पटक हेर्नैपर्ने सिनेमाको रुपमा प्रशंसा गरेका छन्। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीलाई सिकाइ र जीवनको पाठ सिकाउने यस्ता अर्थपूर्ण सिनेमामा सहभागिता गराइरहने जनाएको छ। भिडियो हेर्नुहोस : 