सिनेसुत्र, बिराटनगर- विराटनगर – १३ भेटेरिनरी लाइनस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसहित करिब ८० जनाको समूहले आज सिटी सिनेमा हलमा बहुचर्चित नेपाली सिनेमा ‘मन बिनाको धन’ हेरेका छन् । कक्षा ७, ८ र ९ का विद्यार्थी र शिक्षकले सिनेमा हेरिसकेपछि अत्यन्तै उत्कृष्ट प्रतिक्रिया दिएको छ।
सिनेमा विद्यार्थीलाई देखाउनुको उद्देश्यबारे प्रष्ट पार्दै विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठ भन्नुहुन्छ, यो सिनेमा विद्यार्थीलाई देखाउनुको उद्देश्य मनोरञ्जन मात्र होइन, उनीहरूलाई अनुशासन, जिम्मेवारी र मानवीय मूल्यबारे आत्म अवलोकन गर्न मद्दत पुगोस् भनेर हो।
सिनेमाले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया शिक्षिका रेनुका बजगाईले दिनुभयो। उहाँका अनुसार, ‘मन बिनाको धन’ले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध कति पवित्र र अर्थपूर्ण हुन्छ भन्ने कुरा देखाएको छ।
त्यस्तै, शिक्षक सरोज पोखरेलले पनि सिनेमाको प्रशंसा गर्दै भने, विद्यार्थी जीवनमा हुने गल्ती, त्यसपछि आउने पछुतो, र त्यसबेला शिक्षक, शिक्षिकाले निभाउने भूमिका सिनेमाले यथार्थ रूपमा देखाएको छ। सिनेमा हेरेका अधिकांश विद्यार्थीहरूले भने यो चलचित्रले भावुक बनाएको प्रतिक्रिया दिएका छन्।
यतिबेला सिनेमाले दर्शकको उच्च साथ पाएको अवसरमा कलाकार अशोक दर्जी र निर्देशक टंक बुढाथोकी लगायतको कलाकार टिम यतिबेला दर्शकहरूलाई धन्यवाद दिन देशका विभिन्न शहरहरूमा प्रत्यक्ष भेटघाटको लागि पुगिरहेका छन्।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको यो सिनेमा उनले आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। यसका निर्मातामा मिनु शर्मा (सपना) रहेकी छिन् भने जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा छन्।
सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।


