सिनेसुत्र, बिराटनगर- नेपाली सुपरहिट सिनेमा ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकस्थित पिभिआर आइएनओएक्स, वेस्ट पोइन्ट मलमा भव्य प्रिमियर सम्पन्न भएको छ। प्रिमियर सिक्किम राज्यका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थिति बीच सम्पन्न भएको हो।
प्रिमियरमा पूर्व विधायक तथा मुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राई प्रमुख अतिथि रहिन्। त्यसैगरी सिक्किम सिनेमा विकास बोर्डका अध्यक्ष टाँसी छिरिङ भुटिया, सिक्किम प्रहरी प्रमुख खेल वर्ण गुरुङ, श्रम विभागका अध्यक्ष प्रेमराज गुरुङ, संस्कृति बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, शिक्षा विभागका प्रमुख छोपेल शेर्पा लगायत राज्यका अन्य उच्चपदस्थ अधिकारी तथा कलाकारहरूको उपस्थिति उल्लेखनीय रह्यो। नेपालबाट अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादन कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्माताहरु सहित अन्य टिमको उपस्थिति थियो।
प्रमुख अतिथि राईले सिनेमाप्रति प्रशंसा व्यक्त गरिन्। “एसली प्रोडक्सनले नेपाली भाषीहरूबिचको एकता झल्काउने यस्तो मिठो सिनेमा सिक्किममा ल्याएकोमा धन्यवाद दिन चाहन्छु। भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि नेपाली भाषीहरूको भावना, संस्कृति, र परम्परा एकै हो भन्ने सन्देशले निकै छोयो। ‘ऊनको स्वीटर-२’ पनि हेर्ने चाहना छ, उनले सिक्किम सरकारले नेपाली भाषाका सिनेमा लाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्दै सिक्किमबाट पनि यस्तै स्तरका सिनेमा निर्माण हुने अपेक्षा व्यक्त गरिन्।
निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ सिनेमा प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको बताए। भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली सिनेमा नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए।
प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट सिनेमा बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका सिनेमा नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली सिनेमा नै हुने बताए।
सिनेमा आजदेखि भारतका १४ प्रमुख हलहरूमा प्रदर्शनमा आएको छ। यसमा दार्जिलिङको एसभिएफ सिनेमा, कर्स्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आईएनओएक्स गान्तोक, तथा सिलिगुडीका सिनेमा सिटी सेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमा हरूसहित समावेश छन्। नयाँ दिल्ली, असाम लगायतका स्थानहरूमा भने आगामी हप्ता रिलिज हुने बताइएको छ। बिहीबार शो खुल्ने बित्तिकै टिकट बिक्री उत्साहजनक रूपमा अग्रिम बुकिङसहित सुरु भएको देखिएको थियो।
गायक सुजन चापागाईँ, निर्देशक नवीन चौहान, अभिनेता-अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ र कालिम्पोङका हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ। भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईले सिक्किम सरकारले दिएको सहयोगप्रति आभार व्यक्त गरे। उनले भने, सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली सिनेमा को उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ। ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो, र यसले बलियो सङ्केत दिइसकेको छ।
यसअघि बुधवार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा हजारौँ दर्शक सहभागी भएका थिए। नेपालबाट आएका कलाकार र सुजन चापागाईँको लाइभ प्रदर्शनले वातावरण रोमाञ्चक बनाएको थियो। गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको सिनेमा ले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।
नेपालमा करिब १२ करोड रुपैयाँ कमाएर वर्षकै सफल मध्ये एक सिनेमा बनेको ‘ऊनको स्वीटर’ भारतमा पनि त्यही लोकप्रियता दोहोर्याउने अपेक्षा लिइएको छ। सिनेमा मा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले, सङ्गीत निर्देशक कोविद बज्रले, छायाङ्कन चिन्तन राज भण्डारीले, सम्पादन तथा रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन्।