कथामा सेन्सर बोर्डको हस्तक्षेप भएको भन्दै ‘लडाई पहिचानको’ प्रदर्शन स्थगित

0 Shares

सिनेसुत्र, बिराटनगर- भिम लामा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको बहुप्रतिक्षित सिनेमा ‘लडाई पहिचानको’ प्रदर्शन स्थगन गरिएको छ । मङ्सिर ५ गतेबाट प्रदर्शनमा आएको सिनेमा शनिबारबाट नै लागू हुनेगरी स्थगित गरिएको हो । प्रोडक्सन टिमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना दर्शक, सहयोगी तथा सरोकारवालाहरूसमक्ष प्रदर्शन रोक्नु परेको जानकारी गराएको छ।

विज्ञप्तिअनुसार, सिनेमााको मूल कथावस्तुमा राज्यका तर्फबाट अनावश्यक हस्तक्षेप भएपछि केही महत्वपूर्ण दृश्य र अंशहरूमा ‘कैंची’ चलाउन बाध्य हुनुपरेको थियो, जसका कारण सिनेमााको सार, प्रभाव र पूर्णता नै प्रभावित हुने अवस्था देखिएको प्रोडक्सन टिमले जनाएको छ।मङ्सिर ५ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने उद्देश्यले प्रचार–प्रसार, वितरण तथा अन्य तयारी पूरा गरे पनि दर्शकसामु अपूर्ण कथावस्तु प्रस्तुत गर्न नसकिने कारण प्रोडक्सनले सोही मितिको प्रदर्शन योजना स्थगित गरेको हो। हाल, निर्माण टिमले सिनेमाामा आवश्यक पुनर्संरचना, पुनः सम्पादन र विषयवस्तुको परिमार्जन गर्ने निर्णय गरेको छ। टिमले सिनेमालाई अझ सक्षम, सुगठित र पूर्णरूपमा पुनः प्रस्तुत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।प्रोडक्सनले अचानक गरिएको निर्णयका कारण दर्शक वर्गमा परेको असुविधाप्रति हार्दिक क्षमायाचना गर्दै छिट्टै नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ। भिम लामाको लेखन/निर्देशन रहेको सिनेमालाई भिम लामा, रामजी विश्व, दिलु सुब्बा, उमेश तामाङले निर्माण गरेका हुन् । सिनेमामा प्रशान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धर, प्रेम सुब्बा, सुरविर पण्डित, जेनि घिसिङ, किशोर सम्बाहाम्फे, रोशन शर्मा, सुवास तामाङ, परशुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिनेश कोइराला, दिलु सुब्बा, नवीन मेन्याङ्बो, रामजी बिष्ट, डमर कुमारी मेन्याङ्बो लगायतका कलाकारहरूको भूमिका छ।

सम्बन्धित समाचारसबै