सिनेसुत्र, बिराटनगर- सिनेमा ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले मन पराइरहेका छन् । बुवा र छोरीबीचको इमोशनल सम्बन्धलाई केन्द्रमा राखिएको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो । प्रोमोसनल कन्टेन्ट बाहिर ल्याउन थालेको निर्माण टिमले केही दिनभित्रै गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।
सिनेमाको गीत बेनुका राईको स्वरमा रहेको निर्माण टिमले जानकारी दिएको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । उनी पेशाले गायिका भए पनि विवाहपछि र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि गायनमा त्यति सक्रिय छैनन् । सिनेमाको कथालाई समेट्ने भावनात्मक गीत बेनुकाले गाएको बताइएको छ ।
बेनुकाको स्वर रहेको उक्त गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।
सिनेमाको लेखन तथा निर्देशन यम शेर्पाले गरेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । सिनेमाका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा सिनेमा वितरक रोहित कट्टेल हुन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस सिनेमामा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । सिनेमा ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।