सिनेसुत्र, बिराटनगर- फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली सिनेमा ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। सिनेमा ले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने निर्माण पक्षको दाबी छ।
नेपाली सिनेमा लाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ। फरक धारको कथावस्तु र सशक्त निर्माणका कारण सिनेमा ले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘एक्लो–१’ ले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ऐतिहासिक प्रिमियर गरिसकेको छ। साइन्स–फिक्सनमा आधारित यस सिनेमा का निर्देशक प्रदीप शाही बेलायतमा बसेर सिनेमा निर्माणमा सक्रिय छन्, र ‘एक्लो–१’ उनको तेस्रो निर्देशन हो। हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित सिनेमा निर्माण गरिएको हो।
सिनेमा मा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकन को समेत महत्वपूर्ण भूमिका समावेश गरिएको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस सिनेमा का कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। सिनेमा को छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।