सिनेसुत्र, बिराटनगर- फागुन २९ बाट प्रदर्शनमा आउने सिनेमा ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । सिनेमामा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् ।
थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चाहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् । तर, पात्र निर्माणका लागि उनलाई यौनकर्मी नै भेट्न आवश्यक थियो । उनी भन्छिन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सका लागि उनीहरुसँग भेट्नु थियो ।’
यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ । रोश्नी भन्छिन्, ‘सिनेमा यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’ निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि पात्र निर्माणमा सहयोग भएको उनले खुलाइन् ।
उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या, पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’ यसरी भेटिएका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।
ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ । उनी भन्छिन्, ‘कलाकारको रुपमा म उहाँहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’