‘मितज्यु’मा दयाहाङको मनोवैज्ञानिक खेल, दर्शकलाई नयाँ अनुभव

0 Shares

सिनेसुत्र, बिराटनगर- जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यु’ यतिबेला प्रदर्शनको संघारमा पुगेको छ। पुरानो मितेरी साइनोको विषयवस्तुमा आधारित यस सिनेमाले पारिवारिक सम्बन्ध, मित्रता र पेशागत संघर्षको कथा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ। निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले करिब ८ वर्षअघि नै यसको परिकल्पना गरेका थिए। प्रारम्भमा दयाहाङ राईलाई लिएर निर्माण गर्ने योजना बने पनि समय अभावका कारण काम अघि बढ्न सकेन। यसबीचमा ‘घरज्वाई’ निर्माण भएपछि पुनः ‘मितज्यु’को स्क्रिप्ट खोलिएको हो र यसपटक दयाहाङ राई पनि परियोजनामा जोडिएका हुन्।दयाहाङ राईका अनुसार सिनेमा सम्बन्ध, विशेषगरी पारिवारिक, मित्रता र व्यवसायिक जीवनबीचको द्वन्द्वको कथा हो। गाउँदेखि शहरसम्म चल्ने गाडी सेवामा आधारित कथामा तीन चालकहरूको जीवन, उनीहरूको व्यक्तिगत पृष्ठभूमि र जिम्मेवारीबीचको संघर्ष देखाइएको छ। उनले आफूले निभाएको पात्र भित्री मनोविज्ञानसँग जोडिएको र आफ्नोभन्दा फरक भए पनि यथार्थसँग नजिक रहेको बताएका छन्।

उनका अनुसार सिनेमा प्रत्येक पात्रको आफ्नै कथा बोकेको छ, जसलाई पूर्ण रूपमा बुझ्न दर्शकले सम्पूर्ण सिनेमा हेर्न आवश्यक पर्नेछ। उनले सौगात मल्लसँगको सहकार्य यसपटक फरक प्रकृतिको रहेको र पात्रहरूको उद्देश्य तथा यात्राले कथा अगाडि बढाउने बताएका छन्। नव अभिनेत्री टेरिया फौजा मगरसँगको सहकार्यलाई उनले नयाँ अनुभवका रूपमा लिएका छन्। उनका अनुसार कलाकारका लागि प्रत्येक सिनेमा फरक अनुभव हुने र पात्रअनुसार आफूलाई ढाल्नुपर्ने हुन्छ।दयाहाङले ‘मितज्यु’सँग आफ्नो जोडिनु करिब ८ वर्षअघिको स्क्रिप्टबाट सुरु भएको उल्लेख गर्दै बीचमा कोभिड लगायतका कारण ढिलाइ भए पनि अन्ततः समय मिलेर सिनेमा निर्माण भएको बताएका छन्। व्यक्तिगत रूपमा आफूले ‘मित’ नलगाएको भए पनि यसको सामाजिक र सांस्कृतिक महत्वबारे जानकार रहेको उनले बताएका छन्।

सिनेमामा दयाहाङ राईसँगै सौगात मल्ल, टेरिया फौजा मगर, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाका गीतहरू यतिबेला दर्शकमाझ चर्चामा छन्, विशेषगरी ‘गैराघरे साइँली’ गीतले लोकप्रियता कमाइरहेको छ। निर्माण टिम यतिबेला प्रचार-प्रसारमा व्यस्त रहेको छ भने सिनेमा आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

सम्बन्धित समाचारसबै