जापानी नायिका मीनासँग सलिनमानको जोडी : ‘युनिभर्सिटी अफ गुण्डाज’मा कस्तो होला रोमान्स?

0 Shares

सिनेसुत्र, बिराटनगर- स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ सिनेमा ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक सिनेमामा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस सिनेमामा सलिनमानले एक जापानी नायिकासँग रोमान्स गर्दैछन्।

सिनेमाका युनिटका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीका रूपमा जापानी नायिका मीना यसोदा पक्का भएकी छन्। उनलाई निर्माण टिमले सिनेमाको अभिनेत्रीका रुपमा अनुबन्ध गरिसकेको छ। नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्। निर्माण पक्षले उनको बारेमा थप विवरण भने गोप्य नै राखेको छ।केही समयअघि सार्वजनिक भएको सिनेमाको ‘फर्स्ट लुक’ ले यो सिनेमा पछिल्लो समय बनिरहेका अन्य नेपाली सिनेमाभन्दा फरक र विशेष हुने संकेत गरिसकेको छ। अभिनेता सलिनमान आफैंले लेखेको कथामा बनिरहेको यस सिनेमालाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। सिनेमाको मुख्य भूमिकामा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि देखिनेछन्।

निर्माण पक्षले हालसम्म सिनेमाका अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन। ‘फर्स्ट लुक’ सार्वजनिक गरेर दर्शकको प्रतिक्रिया बुझेपछि मात्र प्रदर्शन मिति तोक्ने निर्माण टिमको आशय देखिन्छ। सिनेमाको मुख्य प्राविधिक टोलीमा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्रचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउण्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) रहेका छन्। सिनेमाको व्यवस्थापनतर्फ प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले र असिस्टेन्ट प्रोडक्सन म्यानेजरमा केवलमान सिंह बस्नेत कार्यरत छन्।

सम्बन्धित समाचारसबै