प्रदर्शनअघि नै ‘पेन्सन पट्टा’को विदेशमा उच्च माग : बेलायत, हङकङपछि अष्ट्रेलिया-न्युजिल्यान्डको पनि विदेशी अधिकार बिक्री

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक तथा कथाकार माओत्से गुरुङको नयाँ नेपाली सिनेमा ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली सिनेमाको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले पनि लगातार अन्तर्राष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई तीव्र बनाएको हो ।

निर्माण पक्षका अनुसार सिनेमाको प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका छन् । बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेका हुन् । त्यसको निरन्तरतास्वरूप अहिले सिनेमाको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । दि ब्याक इभेन्ट्सले अष्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ ।माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । यसअघि माओत्से गुरुङले निर्माण गरेका सिनेमा ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए । त्यसैले ‘पेन्सन पट्टा’प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको विश्वास छ ।

‘पेन्सन पट्टा’ले मानिसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसका लागि कस्तो संघर्ष गर्नुपर्छ भन्ने विषयलाई मानवीयताको दृष्टिकोणबाट डोर्‍याउने कथावस्तु प्रस्तुत गर्नेछ । सिनेमामा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमाका निर्देशक तथा लेखक माओत्से गुरुङ हुन् भने छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् । डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेको सिनेमामा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत रहेको छ ।

नेपाली सिनेमाको अन्तर्राष्ट्रिय बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न देशका वितरकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ । बेलायत, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकबाट समेत प्रदर्शन अधिकारबारे छलफल भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार सिनेमाप्रति विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा थप अन्तर्राष्ट्रिय बजार खुल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारसबै