सिनेसुत्र, बिराटनगर- निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको सिनेमा ‘आ बाट आमा २’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार सिनेमाको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच वितरण अधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यससँगै मध्यपूर्वका लागि सिनेमाको वितरण अधिकार ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।
यसअघि नै सिनेमाको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ तथा अमेरिका र क्यानडाका लागि ‘डोको फिल्म्स’ले खरिद गरिसकेका छन्। निर्माण टिमका अनुसार यी सम्झौताहरू पनि आकर्षक रकममा सम्पन्न भएका हुन्।
आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको सिनेमामा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा जीवन बिताइरहेकी आमाको भावनालाई केन्द्रमा राखिएको सिनेमाले दर्शकको मन छुने अपेक्षा गरिएको छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्’ भन्ने भावनात्मक संवादले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।
प्रदर्शनअघि नै विभिन्न देशका वितरण अधिकार बिक्री हुनुले सिनेमाप्रति अन्तर्राष्ट्रिय बजारमा उच्च चासो रहेको देखिएको छ। निर्देशक पन्तकै कथा, पटकथा तथा निर्देशन रहेको सिनेमाका मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करणसिंह रसाली हुन्। आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाले ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ भन्ने नारालाई आत्मसात गरेको छ। नेपालमा सिनेमाको वितरण ‘आरआर फिल्म्स’ले गर्नेछ भने डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ले लिएको छ।
चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग सिनेमा ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। उक्त सिनेमालाई चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवमा सर्वाधिक कमाइ गर्ने नेपाली सिनेमामध्ये एकका रूपमा सूचीकृत गरेको थियो।
