सिनेसुत्र, बिराटनगर- असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलनमार्फत प्रचारप्रसारको सुरुआत गर्दै उक्त गीत सार्वजनिक गरेको हो।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई प्रस्तुत गरिएको छ। दुवै कलाकारबीचको अभिनय र केमिस्ट्री आकर्षक देखिएको छ। कार्यक्रममा उपस्थित पत्रकारहरूले गीतको भिडियोको निर्माण, प्रस्तुति र दृश्यांकनको प्रशंसा गरेका थिए।
श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतमा विष्णु नेपाल नेपालीको शब्द रचना तथा संकेत अगस्तीको संगीत रहेको छ। विशाल निरौलाले एरेन्ज गरेको यो गीत दर्शकमाझ लोकप्रिय हुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।
सिनेमामा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
डम्बर राईको कथामा निर्माण भएको यस सिनेमालाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। सिनेमाको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका हुन्। बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता अनन्त राई हुन्।
डम्बर राई डिओपी रहेको यस सिनेमाको छायांकन नारायण गुरुङले गरेका छन् भने सम्पादन सन्देश शाहले गरेका छन्। सह–सम्पादनको जिम्मेवारी सन्दीप डाँगीले सम्हालेका छन्।
यस सिनेमाका मुख्य सहायक निर्देशक रोजल थापा हुन् भने सहायक निर्देशकमा गीत बिष्ट र सजना थापा रहेका छन्। दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहने सिनेमाका गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ। सि.बी. भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रवि केसीको शृङ्गार रहेको यस सिनेमाको पोस्ट–प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।