


सिनेसुत्र, बिराटनगर- कलाकार जितु नेपालको प्रमुख भूमिकामा रहेको सिनेमा ‘ज्वाइँ साब’ रिलिजको तयारीमा छ। यही असोज २४ गतेबाट प्रदर्शन हुने यो सिनेमाको सार्वजनिक पोस्टर, टिजर र गीतले सिनेमा क्षेत्रमा र दर्शकबीचमा विशेष उत्साह र चर्चा निम्त्याइसकेको छ। यसै अवसरमा, जितु नेपालले आफ्नो बुढ्यौली गेटअपको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

पोस्टरमा जितुलाई गोवद्र्धन पण्डितको रूपमा देखाइएको छ, जहाँ उनले बुढेसकाल दर्शाउने चस्मा र सोहीअनुरूपको पहिरनमा खुइलिएको तालु देखाएर चरित्रलाई मूर्त रूप दिएका छन्। उनको यो रूपले सिनेमामा कतै जितुको दोहोरो भूमिका त छैन भन्ने जिज्ञासा थप बलियो बनाएको छ।
जितुको दोहोरो भूमिका हो वा होइन भन्ने विषयमा निर्माण पक्षले भने कुनै प्रतिक्रिया दिएको छैन। अहिले जितु सिनेमा प्रमोसनमा व्यस्त छन्, र यसै व्यस्तताबीच सार्वजनिक गरिएको उनको गेटअपले दर्शकमा थप कौतुहलता उत्पन्न गरेको छ।
राजकुमार पण्डितको प्रस्तुतिमा बनेको यो सिनेमाको निर्देशन वसन्त निरौलाले गरेका छन्। सिनेमामा जितु नेपालसँगै निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, र दीपक आचार्यको अभिनय देख्न पाइनेछ।