




सिनेसुत्र, बिराटनगर- माग्ने बुढा नामले परिचित केदारप्रसाद घिमिरे पछिल्लो समय ‘छक्कापञ्जा ५’को कारण चर्चामा छन्। कार्यकारी निर्माता समेत रहेका घिमिरेको अभिनयले यसपटक पनि दर्शकको मन जितेको छ। ‘छक्कापञ्जा’ सिनेमा श्रृंखलाको पाँचौं संस्करणको रिलिजअघि नै निकै हल्ला मच्चिएको थियो। खासगरी, सोही समयमा रिलिज भएको अर्को सिनेमा ‘१२ गाउँ’ले पनि प्रचारमा ठूलो चर्चा पायो, जसले सामाजिक संजालमा गर्मागर्मी स्थिति सिर्जना गर्यो।
हाल दुवै सिनेमा बक्स अफिसमा सफल देखिएका छन्। रिपोर्ट अनुसार, ‘छक्कापञ्जा ५’ले तीन दिनभित्र नै ५ करोड रुपैयाँको ब्यापार गरेको छ।
यसैबीच, माग्ने बुढाले आइतबार सामाजिक संजालमा आफूले “साइबर सेना” भन्ने शब्द आवेगमा प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन्। उनले भनेका छन्, “एक कार्यक्रममा भावुक भएर मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा माफी चाहन्छु। त्यो समयमा मेरो बुझाइ र अहिलेको बुझाइमा धेरै भिन्नता महसुस गरेको छु।”
दशैंको टीका लगाउन गाउँ पुगेको कुरासँग सम्बन्धित उनले भनेका छन्, “आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको छु। बुवाले मलाई सोध्नुभयो, ‘सिनेमा कस्तो चल्या छ?’ यसपटक म हेर्न जान सक्या छैन।” मैले बुवालाई भनें, ‘सिनेमा राम्रो चल्या छ, तर मान्छेले मलाई गाली गर्दैछन्।’ बुवाले आश्चर्य मान्दै सोध्नुभयो, ‘किन गाली गर्छन् त?’ मैले भनेँ, ‘साइबर सेना किन भनिस्?’ भन्छन्। बुवाले सुझाउनुभयो, ‘सानो भएर सबैसँग अटाईन्छ, ठूलो हुँदा कसैसँग छिरिँदैन। अरूबारे हत्तपत्त मुख खोल्नु हुँदैन, सबैको प्यारो बन्न पर्छ।’ बुवाको यो सल्लाहले मलाई पुनः ऊर्जा मिलेको छ। यदि कसैको चित्त दुखेको छ भने म माफी चाहन्छु।”
माग्ने बुढाको यो आत्मीय सन्देशले दर्शक तथा प्रशंसकहरूलाई भावुक बनाएको छ।