सिनेसुत्र, बिराटनगर – सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘रंगी’को सुटिङ सुरु भएको छ । यस सिनेमाका प्रस्तुतकर्ता सलोन बस्नेत रहेका छन्।
सुरेश न्यौपानेको निर्देशनमा बनेको यो सिनेमा उनको डेब्यू निर्देशनको काम हुनेछ। सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको मुख्य अभिनय रहने छ। निर्माण पक्षका अनुसार, यो सिनेमाको सुटिङ अवधि ३० दिनको हुनेछ।
निर्देशक सुरेश न्यौपानेले यसअघि ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता लोकप्रिय सिनेमाहरूमा मुख्य सहायक निर्देशकको भूमिकामा काम गरिसकेका छन्।
सिनेमाको टाइटल पोस्टर पनि सार्वजनिक भइसकेको छ, जसमा साइकलमा बसेकी एक बालिका र उनको नजिक खेलिरहेका एक पुरुष देख्न सकिन्छ। पोस्टरले उनीहरू बाबु छोरीको सम्बन्धमा रहेको संकेत गर्दछ। पृष्ठभूमिमा सूर्यास्तको दृश्यले सिनेमाले पारिवारिक कथा प्रस्तुत गर्ने संकेत गरेको छ।
सक्षम सुवेदीको निर्माणमा बन्ने यो सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, र केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ।