बिराटनगर, सिनेसुत्र – नेपाल चलचित्रकर्मी संघ, कोशी प्रदेशको आयोजनामा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ अन्तर्गत ‘अभिनय कार्यशाला’ जारी छ।
ओस्कार कलेजबाट स्नातक र एभरेस्ट फिल्म एकेडेमीका प्रशिक्षक मनिष राउतले सहभागी ३० जनालाई अभिनयका विभिन्न पाटाहरू, बडि ल्याङ्ग्वेज, भ्वाइस एन्ड स्पिच, क्यामेरा फ्रेमिङ र डाइलोग डेलिभरीमा प्रशिक्षण प्रदान गरिरहेका छन्। कार्यशाला मंसिर ७ सम्म चल्नेछ, जसपछि निर्देशक सुदर्शन थापाले प्रशिक्षण दिनेछन्।
महोत्सवमा कोशी प्रदेशमा निर्माण भएका सिनेमाहरू नि:शुल्क प्रदर्शन भइरहेका छन्। ‘नालापानी,’ ‘वानरसेना,’ ‘माङेन्ना’ लगायतका सिनेमा प्रदर्शन भइसकेका छन्। आज ‘लिलामे माईला’ प्रदर्शन हुँदैछ भने ‘बिहे पास,’ ‘चारदाम,’ र ‘कृष्ण लिला’ क्रमशः मंसिर ७, ८, र ९ गते देखाइनेछ।
साथै, मंसिर ९ गते सिक्किम र कोशी प्रदेशबीच मैत्री सुदृढ बनाउन ‘सिक्किम साँस्कृतिक साँझ’ आयोजना हुनेछ, जहाँ सिक्किमका कलाकारहरूले प्रस्तुति दिनेछन्।
महोत्सवमा हरेक रात सांस्कृतिक कार्यक्रमले झापालीलाई मनोरञ्जन दिइरहेको छ। नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको व्यवस्थापनमा सञ्चालन भइरहेका यी गतिविधिहरूले बिर्तामोडको पर्यटन र सांस्कृतिक विविधतालाई अझ प्रवर्द्धन गरिरहेका छन्।