घरबाहिरको सिनेमा पहिलोपटक साइन गरिन : सुहाना थापा ‘परालको आगो’ मा अनुबन्धित

0 Shares

बिराटनगर, सिनेसुत्र – कथाकार गुरुप्रसाद मैनालीको कालजयी कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने सिनेमा ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छिन्।
हरिओम सिने मेकर्सका निर्माता सुशील पोखरेलले शुक्रबार औपचारिक रूपमा सुहानालाई सिनेमाको मुख्य भूमिकामा अनुबन्धित गरेका छन् ।

मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्सलाई यो सिनेमा निर्माण गर्न अनुमति प्रदान गरेको थियो।
मैनालीको चर्चित कथा संग्रह ‘नासो’ मा संग्रहित ‘परालको आगो’ ले दुई पात्र चामे र गौँथलीको जीवनका घटनालाई पर्दामा उतार्नेछ।सिनेमामा अनुबन्धित भएपछि सुहानाले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि गर्वको विषय हो।
यही कारणले मैले घरबाहिरको सिनेमा पहिलो पटक साइन गरें” साथै, उनले हरिओम सिने मेकर्सजस्तो ठुलो ब्यानर र ‘बुलाकी’ जस्तो पुरस्कारप्राप्त सिनेमा निर्देशन गरेका लक्ष्मण सुनारसँग सहकार्य गर्न पाउनुको खुशी व्यक्त गरिन्।
सुहानाले निर्माता सुशील पोखरेलसँगको सहकार्यलाई पनि आफ्नो लागि विशेष अवसरको रूपमा लिएकी छिन्।

निर्माता पोखरेलका अनुसार, यो सिनेमा २०८२ सालको दशैंमा प्रदर्शनमा आउनेछ।
यसअघि, यही नाममा निर्देशक प्रताप सुब्बाले ४५ वर्षअघि सिनेमा निर्माण गरेका थिए तर, पोखरेलका अनुसार, यो पटकको प्रस्तुति, लोकेसन र पटकथामा नवीनता हुने छ।

लक्ष्मण सुनारको निर्देशन रहने यस सिनेमा फागुनदेखि छायांकनमा जाने तयारीमा छ।
निर्माता पोखरेलले यसअघि मैदान, जीवनदाता,निगरानी, जय शिव शंकर, लभ सभ,राधे र ‘यात्रा’ जस्ता सिनेमा निर्माण गरिसकेका छन्।

हरिओम सिने मेकर्सको ब्यानरमा बन्ने ‘परालको आगो’ नेपाली सिने क्षेत्रमा एक पृथक र ऐतिहासिक सिनेमा बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै