‘पूर्ण बहादुरको सारङ्गी’ सफलता पछि विजय बरालले सुरु गरे ‘लाज शरणम्’को दोश्रो सेड्यूलको छायांकन

0 Shares

बिराटनगर, सिनेसुत्र –‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बराल अभिनीत सिनेमा ‘लाज शरणम्’ को दोस्रो चरणको छायांकन काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा मंगलबार सुरु भएको छ। दशैंअघि डोल्पामा पहिलो चरणको छायांकन सकेपछि निर्माण टिमले काठमाडौंको तालिका सुरु गरेको हो।

निर्माणपक्षका अनुसार हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सम्पन्न भइसकेको छ। यो सिनेमा फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने घोषणा गरिएको छ। ‘लाज शरणम्’ विजय बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ।

सिनेमामा विजय बरालसँगै मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
त्यसैगरी, सक्किगोनि टिमका अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), र बबिन राई (गल्फने बाजे) को पनि सिनेमामा प्रमुख भूमिका रहेको छ ।

सिनेमाको छायांकन सुदीप बरालले गरिरहेका छन्। यो सिनेमा जेपिटी क्रियसनको ब्यानरमा निर्माण भइरहेको हो। नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माता रहेका छन्।

निर्माणपक्षले सिनेमाको छायांकन सकिएलगत्तै पोस्ट-प्रोडक्सनमा जाने योजना रहेको जनाएको छ। ‘लाज शरणम्’ ले नयाँ कथा र कलाकारहरूको प्रदर्शनमार्फत दर्शकलाई फरक अनुभव दिने निर्माणपक्षको विश्वास छ।

सम्बन्धित समाचारसबै