विपिन र स्वस्तिमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट उत्कृष्ट अभिनेता-अभिनेत्री अवार्ड विजेता, निश्चल उत्कृष्ट निर्देशक घोषित

0 Shares

बिराटनगर, सिनेसुत्र –  सिनेमा क्षेत्रलाई सम्मान गर्ने उद्देश्यले राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१ बुधबार राष्ट्रपति भवन शीतल निवासमा भव्यताका साथ सम्पन्न गरियो। कार्यक्रमको प्रमुख अतिथि रहेका नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले २०८० मा प्रदर्शन भएका उत्कृष्ट सिनेमाहरू र अनुभवी सिनेकर्मीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे।यो वर्षको उत्कृष्ट सिनेमा लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ बन्न सफल भयो। सर्वोत्कृष्ट निर्देशकको अवार्ड भने ‘दिमाग खराब’ का लागि निश्चल बस्नेतलाई प्रदान गरियो। अभिनयतर्फ ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वोत्कृष्ट अभिनेता र ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भए।

अन्य विधागत अवार्डहरू
उत्कृष्ट सम्पादन: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायांकन: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषा सिनेमा: लोजिमा (लिम्बु भाषा)

कार्यक्रममा नेपाली सिनेमा क्षेत्रमा योगदान दिने ११ जना सिनेकर्मीहरूलाई विशेष सम्मान प्रदान गरियो। सम्मानित व्यक्तित्वहरूमा अभिनेता त्यैयव शाह, द्वन्द्व निर्देशक नारायण प्रधान, संगीत संयोजक अमुल कार्की ढली, र कलाकार बुद्धि तामांगजस्ता नाम समावेश थिए। गुणस्तरीय आदिवासी भाषाका सिनेमाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सतीदेवी’ (तामाङ भाषा), ‘सुगुप’ (लिम्बु भाषा), र ‘मार्कली’ (गुरुङ भाषा) लाई विशेष सिनेमा पुरस्कार प्रदान गरियो।

नेपालको पहिलो सिनेमा ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई सिनेमा दीर्घ साधना सम्मान प्रदान गर्दै उनको योगदानको कदर गरियो।

यस भव्य कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका थुप्रै चर्चित अनुहारहरूको उपस्थिति रहेको थियो, जसले नेपाली सिनेमाको भविष्यप्रति अझ विश्वास र प्रेरणा दिएको छ।

तस्बिर साभार : अनलाइन खबर

 

सम्बन्धित समाचारसबै