बिराटनगर, सिनेसुत्र – सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको सिनेमा ‘रंगी’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। प्रस्तुतकर्ता सलोन बस्नेतको यो सिनेमा २६ दिनमै इन्डक्ल्याप गरिएको छ।
सुरेश न्यौपानेको निर्देशनमा तयार भएको यो डेब्यू सिनेमा नेपाली सिने क्षेत्रका अनुभवी तथा चर्चित कलाकारहरू रहेका छन् । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीले मुख्य भूमिका निभाएका छन्। ३० दिनको समय तालिका लिएर छायांकन सुरु गरिएको सिनेमाले अपेक्षा गरिएको समयभन्दा ४ दिनअघि नै आफ्नो कार्य पूरा गर्न सफल भएको छ।

निर्देशक सुरेश न्यौपाने यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता सफल सिनेमाहरूमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।
सक्षम सुवेदीको निर्माणमा तयार भएको ‘रंगी’ को लेखन सुमन गजमेरले गरेका हुन् भने छायांकन सौरभ लामाले गरेका छन्। संगीतमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको रहेको छ । कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफीको रहेको छ भने प्रोडक्सन व्यवस्थापन केवलमान सिंह बस्नेतले गरेका छन्।
‘रंगी’ ले सिनेप्रेमीहरूलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।