बिराटनगर, सिनेसुत्र – सामाजिक मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने सिनेमा ‘महाभोज’ को औपचारिक घोषणा गरिएको छ।
राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दिनेश राउतको निर्देशनमा बन्ने यो सिनेमा यसअघि ‘गाउँ नै रमाइलो’ नामकरण गरिएको थियो तर, कथावस्तु अनुरूप शीर्षक परिवर्तन गर्दै ‘महाभोज’ राखिएको निर्माण पक्षले जनाएको छ।
सिनेमाको छायांकन आगामी माघ १ गतेबाट सुरु हुने तय भएको छ। कलाकारको बलियो टोलीको संलग्नताले सिनेमाप्रति दर्शकको उत्साह थप्ने संकेत देखिएको छ।
दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगरलाई मुख्य भूमिकामा अनुबन्धित गरिएपछि हालै खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाल पनि कलाकारको सूचीमा थपिएका छन्।
कलाकारहरूबीचको जोडी कस्तो रहनेछ भन्ने चाहिँ निर्माण टोलीले गोप्य राखेको छ यद्यपि, कलाकारहरूको लाइनअपले नै सिनेमा दर्शकका लागि रोचक हुने अपेक्षा गरिएको छ।
विकास सुवेदीले लेखेको कथाले समाजका विविध पाटाहरूलाई उठान गर्नेछ। सुवेदी यसअघि ‘प्रकाश’ र ‘पूजार सार्की’ जस्ता सफल स्क्रिप्टका लागि चिनिएका छन्। सिनेमाका निर्माता हिमाल कडरिया हुन् |

सिनेमाको निर्माण हिमाल कडरियाले गर्नेछन्। उनका लागि यो तेस्रो सिनेमा हो। पहिलो सिनेमा ‘नाङ्गो गाउँ’ बक्स अफिसमा सफल भएपछि उनले निर्माणको गति बढाएका हुन्। केही हप्ताअघि मात्रै उनको दोस्रो सिनेमा ‘दुःखी आत्मा’ को छायांकन सकिएको थियो।
सामाजिक कथावस्तुमा आधारित ‘महाभोज’ आगामी जेठमा रिलिज गर्ने लक्ष्य राखिएको छ। दिनेश राउतले यसअघि ‘प्रसाद,’ ‘प्रकाश,’ ‘नोभेम्बर रेन,’ र ‘क्लासिक’ जस्ता चर्चित सिनेमा निर्देशन गरिसकेका छन्। निर्माण टोलीले यो सिनेमा दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा विश्वास व्यक्त गरेको छ।
सिनेमाको वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ, जसले यसलाई व्यापक रूपमा बजारमा पु¥याउने योजना बनाएको छ।