सिनेमा ‘कार्साङ’ को टिजर सार्वजनिक: दयाहाङ झाँक्री, जितुको अहिलेसम्मकै फरक चरित्र

0 Shares

बिराटनगर, सिनेसुत्र – सिनेमा ‘कार्साङ’को टिजर बुधबार सार्वजनिक गरिएको छ, जसले नेपाली ग्रामीण समाजको कठोर यथार्थलाइ प्रस्तुत गरेको छ । आउँदो पुस २६ गते प्रदर्शनमा आउने सिनेमाको टिजरमा झाँक्री परिवारले जीवनयापनका लागि गरेको संघर्षलाई देखाइएको छ।
दयाहाङ राई टिजरमा झाँक्रीको भूमिकामा देखिएका छन् भने अभिनेता जितु नेपालको अहिले सम्मको फरक अभिनय सिनेमाको टिजरमा देखाइएको छ ।
सन्तान नजन्मिएका कारण समाजमा भोग्नु पर्ने तिरस्कार, ऋण र सरसापटमा गुज्रिने दिनचर्या, र आफ्नै परिवारबीचको मनमुटावलाइ टिजरमा देखाइएको छ। यसले गरिबी र अभावले कसरी पारिवारिक जीवनलाई प्रभावित पार्छ भन्ने कुरा झल्काउँछ।
उक्त सिनेमा यम शेर्पाको निर्देशनमा तयार भएको हो। निर्देशक शेर्पाले नै सिनेमाको कथा लेखेका छन्, जुन शेर्पा समुदायको संस्कृतिमा आधारित छ।
सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, र बुद्धि तामाङलाइ मुख्य भूमिकामा देखन सकिन्छ भने, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन लगायतका कलाकारहरू पनि सिनेमामा देखिनेछन्। बाल कलाकार राशी लिम्बु र सोहन थापाको अभिनयले पनि सिनेमा आकर्षक बनाएको छ।
सिनेमाको संगीत मनोज थापा मगर, एसडी योगी, र बिशो डोङले तयार पारेका छन्। छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्, जो यसका निर्माता पनि हुन्। सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने सहनिर्माता गोविन्द बोहरा रहेकाछन्।
‘कार्साङ’ले ग्रामीण समाजको गरिबी र पारिवारिक सम्बन्धमा पर्ने तनावलाई सिनेमाको मुख्य कथा रहने देखिएको छ। यो सिनेमा नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय वितरण हुल्या इभेन्ट्सले गर्नेछ।

 

सम्बन्धित समाचारसबै