सौगात मल्लको विद्रोही अवतार सिनेमा ‘बम बहादुर’को ट्रेलर सार्वजनिक

0 Shares

बिराटनगर, सिनेसुत्र – सौगात मल्लको विद्रोही भूमिकासहितको सिनेमा ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। पुस ५ गते देखि प्रदर्शनमा आउन लागेको यो सिनेमाले सस्पेन्स, थ्रिल, र सामाजिक ड्रामाको अनुभव दर्शक दिने देखिएको छ ।ट्रेलरमा साहस, सङ्घर्ष र विद्रोहका क्षणहरूलाई केन्द्रमा राख्दै भारतको दार्जिलिङ क्षेत्रको कथा उजागर गरिएको छ। यसअघि सार्वजनिक टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ’ भन्ने सन्देशलाई स्थापित गर्ने प्रयास गरिएको थियो भने, ट्रेलरले एक युवाको मुक्ति सङ्घर्षलाई देखेको छ । उक्त सिनेमाको ट्रेलरलाई शाहिल खानले सम्पादन गरेका छन्।
निर्देशक जोन राईका अनुसार, ‘बम बहादुर’ नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र सन्देशमूलक कथावस्तुमा आधारित सिनेमा हो। १९८० को दशकमा भारतको नेपाली समुदायले भोगेका सङ्घर्षहरूलाई यो सिनेमाले पर्दामा देखाउने प्रयास गरेको छ। राईले यो सिनेमालाई नेपाली समुदायको इतिहासको डिजिटल दस्तावेजको रूपमा परिभाषित गरेका छन्।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा तयार भएको सिनेमाका निर्माता सञ्जीव सार्की हुन्। निर्देशक जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस सिनेमाको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्।

सिनेमामा सौगात मल्लसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङ लगायतको अभिनय छ।

सिनेमामा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट र ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्। लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, र साउन्ड मिक्सर मुकेश शाह हुन्।

सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। पोस्ट-प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियो मा गरिएको हो।

नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने यो सिनेमा पुस ५ मा पर्दामा आउने छ।

सम्बन्धित समाचारसबै